उदयपुरको सदरमुकाम गाईघाटमा संचालित ‘रुपान्तरण’ बिषयक प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । गाईघाट स्थित कोहबर होटलमा फागुन ५ गते देखी संचालन भएको तालिम आज (शुक्रबार) सम्पन्न भएको हो । सामाना परियोजना अन्र्तगत जाल्पा एकिकृत बिकास समाजको आयोजनामा किशोरकिशोरीहरुको समग्र बिकासका लागी आयोजना गरिउको तालिममा रौतामाई गाउँपालिकाका ४० जना किशोरकिशोरीहरु सहभागी भएका थिए ।
१० दिने तालिमको समापन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले समाजमा देखिएका बाल तथा लैङ्गिक हिंसा न्युनिकरण गर्न किशोरकिशोरीहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । किशोरकिशोरीहरु सचेत भए समाजमा घट्ने सामाजिक बिकृतीका घटनामा उल्लेख्य मात्रामा कमि आउने तर्क गर्दै उहाँले शान्त, समुन्नत र व्यबस्थित समाजका लागी सरोकारवालाहरुको भुमिका पनि महत्वपूर्ण हुने तर्क गर्नुभयो ।
यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख तथा प्रहरी उपरिक्षक भिम दाहालले जिल्लामा देखिएका बाल विवाह, जबरजस्ती करणी, लागुऔषध सेवन तथा ओसारपसार जस्ता समस्याहरु न्युनिकरण गर्न किशोरकिशोरहिरु स्वम् सचेत हुनुपर्ने बताउनुभयो । असल देश निमार्णको लागी आफु र आफ्नै परिवार देखी सकारात्मक कर्मको सुरुवात गर्नुपर्ने तर्क गर्दै उहाँले तालिममा सिकेका बिषयहरु व्यवहारमा उतार्न समेत सहभागीहरुलाई अनुरोध गर्नुभयो ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, रौतामाई गाउँपालिकाका योजना शाखा प्रमुख माधव प्रसाद खतिवडा, वल्र्ड भिजन ईन्टरनेश्नल नेपालका निति तथा संचार प्रमुख प्रमिल अधिकारी, प्रशिक्षक चन्द्रकुमारी सुब्बा, सहभागीको तर्फबाट टेकेन्द्र कटुवाल र शुस्मा सार्कीले मन्तव्य राखेका थिए । तालिमका सहभागीहरुलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र प्रहरी उपरिक्षक भिम दाहालले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
जाल्पा एकिकृत बिकास समाज, उदयपुरको आयोजना रहेको कार्यक्रममा वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको सहयोग तथा रौतामाई गाउँपालिकाको सहयोग रहेको थियो । प्रशिक्षण कार्यक्रममा आत्मजागरण, अधिकार र कर्तव्य, लैंगिक र सामाजिक समावेशीकरण, किशोरावस्था, राम्रो बानी, पोषण, प्राथमिक उपचार, नागरिक सहभागिता, प्राकृतिक श्रोत, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, खर्च र बचत, जिविकोपार्जनका विकल्प, यौन तथा प्रजनन स्वास्थ्य, लैंगिकतामा आधारित हिंसा, लघु उद्यम बिकास लगायतका बिषयमा प्रशक्षिण गराईएको जाल्पा एकिकृत बिकास समाजका अजय शाहले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष अध्यक्ष पुष्प पोखरेलको अध्यक्षतामा सम्पन्न भएको समापन सत्र कार्यक्रममा नागरिकसमाजका अगुवा, शिक्षाप्रेमी, मानवअधिकारकर्मी, जनप्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।