रौतामाई गाउँपालिकाको २ वटा वडा र उदयपुरगढी गाउँपालिकाको १ वटा गरी यो बर्ष उदयपुरको ३ वटा वडाहरु बालमैत्री स्थानीय शासन घोषणा हुने भएकोछ । रौतामाई गाउँपालिका वडा नं. २ भुट्टार, वडा नं. ४ पोखरी र उदयपुरगढी गाउँपालिका वडा नं.१ तावाश्री बालमैत्री स्थानीय शासन घोषणाका लागि तयारी भईरहेको हो ।
बालबालिकाहरुको अधिकार र संरक्षणमा कार्य गर्दै आईरहेको स्थानिय संस्था जाल्पा एकिकृत विकास समाज(जिड्स) उदयपुरको आयोजना, वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग र रौतामाई गाउँपालिका एवं उदयपुरगढी गाउँपालिकाको सहकार्यमा तीन दिवसीय बालमैत्री स्थानीय शासन सम्बन्धी कार्यशालाको समापन कार्यक्रममा संस्थाले सो कुराको जानकारी गराईएको हो ।
कार्यक्रममा बोल्दै रौतामाई गाउँपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले बाल अधिकारको सवालमा आफु जहिल्यै स्पष्ट रहेको बताए । उनले आजका बालबालिका भोलिका कर्णधार भएकाले उनिहरुको हकअधिकारको रक्षा गर्दै सुन्दर भविष्यका लागि गाउँपालिका सचेत भएर अघि बढ्दै गरेको बताए । रौतामाईका २ वटा वडा यसैवर्ष बालमैत्री घोषणा हुने तयारिप्रती खुसी व्यक्त गर्दै उनले साझेदार संस्था जिड्स र सहयोगी निकाय वल्र्डभिजनप्रति धन्यबाद व्यक्त गरे ।
जीड्सका अध्यक्ष पुष्पराज पोखरेलले यो बर्ष सन् २०२१ को सेप्टेम्बर भित्र तीनै वटा वडाहरु बालमैत्री वडाको रुपमा घोषणाको तयारी भईरहेको जानकारी गराउनुभयो । यसका लागि जाल्पा र वर्ल्ड भिजनले प्राविधिक सहयोग एवं सहजीकरणको जिम्मेवारी वहन गर्ने उहाँले बताउनुभयो ।
यस्तै गाउँपालिकाको तर्फबाट आफनो धारणा राख्दै रौतामाई गा.पा.का सामाजिक विकास समितिका संयोजक एवं वडा नं. २ भुट्टारका वडा अध्यक्ष खवीन्द्र रास्कोटीले बालमैत्री वडा घोषणाका लागि अघिल्लो बर्षनै पालिका तयार रहेकोमा कोरोना महामारीले गर्दा ढिलो हुन गएको तर यो बर्ष सबै तयारी पुरा गरी घोषणा गर्ने योजना रहेको बताउनुभयो । साथै अध्यक्ष रास्कोटीले पालिकाले बालमैत्री स्थानीय शासन प्रबद्र्धनका लागि उल्लेखनिय बजेट व्यवस्थापन समेत गर्ने जमर्को गरेको बताउनुभयो ।
संस्थाका कर्मचारीहरु, तिनै वटा वडाका वडा अध्यक्षहरु, तीनै वटा वडा स्थित बाल अधिकार समितिका संयोजकहरु , तीनै वटा वडाका बालमैत्री स्थानिय शासन सम्बन्धी फोकल पर्सन, रौतामाई गाउँपालिकाका उपप्रमुख, रौतामाई गापा महिला बालबालिका तथा जेष्ठ नागरिक इकाईका प्रमुख, वल्र्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधी, पत्रकार लगायतको सहभागीतामा तीन दिवसीय उक्त कार्यशाला संचालन गरिएको जाल्पा एकिकृत विकास समाज(जीड्स) उदयपुरका कार्यक्रम संयोजक अजय साहले बताउनुभयो ।
कार्यशालाको सहजीकरण बालमैत्री स्थानीय शासन विज्ञ मबिन घलेले गरिरहनुभएको हो । कार्यशालामा बालमैत्री स्थानीय शासन कार्यान्वयनका चरणहरु, बालमैत्री स्थानिय तह घोषणा, बालमैत्री स्थानीय शासनका ३९ वटा सूचकहरु, स्थानिय योजना तर्जुमा प्रक्रिया र बाल भेला र सरोकार पक्षको भुमिका लगायतका विषय बस्तुहरुमा बृहत छलफल हुने सहजकर्ता घलेले जानकारी गराउनुभयो ।