किशोरकिशोरीहरुको समग्र बिकासका लागी रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । फागुन ५ देखी १४ गते सम्म संचालन हुने तालिमको उद्घाटन सत्र बुधबार उदयपुरको सदरमुकाम गाईघाट स्थित होटल कोहबरमा सम्पन्न भएको हो । जाल्पा एकिकृत बिकास समाज (जिड्स) उदयपुरको सामाना परियोजना अन्र्तगत आयोजना गरिएको कार्यक्रममा रौतामाई गाउँपालिकाका ४० जना किशोरकिशोरीहरु सहभागी छन् ।
कार्यक्रमको उद्घाटन सत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर दर्नालले बिद्यालय तथा कलेजमा किशोरकिशोरीमैत्री शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । पछिल्लो समय बालिकाहरु माथी हिंसा तथा बलत्कारका घटनाहरु बढ्दै गएको तथ्याङ्कले देखाएको भन्दै यस्ता समस्या समाधान गर्न किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गर्ने, अभिभावकले आफ्ना सन्तानहरुको बिशेष निगरानी राख्ने तथा सरोकारवालाहरुले सचेतनामूलक अभियानलाई तिब्र बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
यस्तै उहाँले समाजमा बालविवाहमा समेत कमी आउन नसकेको प्रति दुःख प्रकट गर्दै उमेर नपुगी विवाह गर्दा आईपर्ने समस्याहरुको बारेमा किशोरकिशोरी तथा अभिभावक संग खुलेर छलफफल गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) भिम दाहाल, गैसस महासंघ उदयपुरका अध्यक्ष सुमन परियार, समाजसेवी शंकर थापा, रौतामाई गाउँपालिका उदयपुरका शिक्षा शाखा प्रमुख गोबिन्द केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जाल्पा एकिकृत बिकास समाज, उदयपुरको आयोजना रहेको कार्यक्रममा वर्ल्ड भिजन ईन्टरनेश्नल नेपालको सहयोग तथा रौतामाई गाउँपालिकाको सहयोग रहेको थियो । फागुन १४ गते सम्म संचालन हुने तालिममा चन्द्रकुमारी सुब्बा र काजोल माझीले प्रशिक्षण गराउनेछन् ।
प्रशिक्षण कार्यक्रममा आत्मजागरण, अधिकार र कर्तव्य, लैंगिक र सामाजिक समावेशीकरण, किशोरावस्था, राम्रो बानी, पोषण, प्राथमिक उपचार, नागरिक सहभागिता, प्राकृतिक श्रोत, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, खर्च र बचत, जिविकोपार्जनका विकल्प, यौन तथा प्रजनन स्वास्थ्य, लैंगिकतामा आधारित हिंसा, लघु उद्यम बिकास लगायतका बिषयमा प्रशक्षिण गराईने जाल्पा एकिकृत बिकास समाजका कार्यक्रम संयोजक अजय शाहले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष अध्यक्ष पुष्प पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्र कार्यक्रममा नागरिकसमाजका अगुवा, शिक्षाप्रेमी, मानवअधिकारकर्मी, जनप्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।